
a review by FateXBlood

a review by FateXBlood
सावधान: प्लुटो एक रहस्यमय कथा हुनु को कारण यस समीक्षामा छोटो जानकारी पनि ठूलो स्पोइलर हुन सक्छ। कृपया प्लुटो को माङ्गा पढें पछि मात्र यस समीक्षालाई पढ्नुहोला।

प्लुटो माङ्गा को सानो सारांश:
प्लुटो को कथा सुरु हुन्छ एउटा यस्तो पृथ्वीमा जहाँ मानिस सँग-सँगै मानिस जस्तो देखिने AI रोबोट पनि हुन्छन्। यी रोबोटहरु वैज्ञानिकहरूले थुप्रै कामहरूका लागि बनाइएका हुन्छन्। यसै बीच कथा को सुरुवातमा स्वीजरल्याण्ड को प्रसिद्ध रोबोट "मोन्ट ब्लाङ्क" को हत्या हुन्छ। विश्वमा सबै भन्दा लोकप्रिय रोबोट हुनाले उसको मृत्यु को खबर सबैलाई दुःख पुर्याउँछ। अर्को ठाउँमा एक रोबोट अधिकार कार्यकर्ता मृत फेला पर्छ। यी दुवै घटनाहरू असम्बन्धित देखिन्छन्, तर जाँच गर्दा पाउँछ कि मोन्ट ब्लाङ्क र रोबोट अधिकार कार्यकर्ता दुवै को टाउकोमा सिङ गाडिएको हुन्छ।
यी दुवै हत्या को जाँच गर्न को लागि युरोपको युरोपोल ले गजिट नामको जर्मन अन्वेषकलाई खटाउँछ। जसरी जसरी गजिटले यो घटनालाई सुल्झाउन खोज्छ, उसले थपाउँछ की विश्वका ७ महान् रोबोटहरू को ज्यान खतरामा छ, र ती मध्ये गजिट पनि एक हो। हत्यारा खोज्नु को कोसिसमा गजिटले पता लगाउँछ की हत्यारा को नाम प्लुटो हो।

प्लुटो को कथा ओसामु तेजुका को माङ्गा शृंखला "तेत्सुवान एटम" को "इतिहासको सबै भन्दा महान् रोबोट" आर्क बाट लिएको छ। नाओकी उरासावाले यस आर्कलाई पढेर एटम को बारेमा कथा लेख्ने विचार गरेका थिए। ताकाशी नागासाकी संग मिलेर र ओसामु तेजुका का छोरा माकोतो तेजुका को निगरानीमा नाओकी उरासावाले यस माङ्गालाई लेखका हुन्।
खासै भनु त मलाई ओसामु तेजुका का माङ्गा पढ्न निकै रमाइलो लाग्छ। मैले उहाँको ३-४ ओटा काम पढी सकें। उहाँले आज भन्दा लगभग ६०-७० वर्ष अगाडि देखि माङ्गा कोर्न सुरु गरेका थिए। जापानमा उहाँलाई "माङ्गा को भगवान" भनेर चिनिन्छ।
अर्को तर्फ, मैले नाओकी उरासावा को एउटा मात्रै काम हेरेको छू जो हो " मोन्स्टर "। ७५ एपिसोड लामो कथा भएको मोन्स्टर को एनिमे मलाई साह्रै राम्रो लाग्यो। कथा को गति ढिलो छ तर अन्त सम्म हेर्नमा राम्रो लाग्छ। खासमा मैले प्लुटो को बारेमा ५ वर्ष अगाडि थाहाँपाएको थिए जब मलाई कुनै नयाँ माङ्गा पढ्न मन थियो, तर त्यति बेला मलाई ८ खण्ड भएको ठूलो माङ्गा पढ्न मन लागेन। हालै २ महिना अघि नेटफ्लिक्स ले घोषणा गर्यो कि प्लुटो को एनिमे छिटै आउनेछ। यो कुरालाई मध्यनजर राख्दै मैले ठाने कि एनिमे को प्रसारण हुन अगाडि म यसको माङ्गा पुरै पढ्छु। अनि यसै गरी मैले प्लुटो को माङ्गा पढें।
अब समीक्षा सुरु गर्छु:
सब भन्दा पहिला म प्लुटो को कला को बारेमा व्यक्त गर्न चाहन्छु। कलाकार नाओकी उरासावा को पात्र कोर्ने डिजाइन निकै मिल्दो जुल्दो छ। उहाँले आफ्नो धेरै जसो कामहरूमा मिल्दो जुल्दो मुख भएको पात्र कोरेका छन्। उहाँको यस्तो कोर्ने कला को कारण उहाँ को काम सजिलो तरिकाले चिनिन्छ।
उहाँले मानिस, रोबोट, पृष्टभूमिमा रहेका घर र गगनचुम्बी भवनहरू अति विशिष्ट तरिकामा दर्शाएका छन्। यति मात्रै हैन, उहाँले हरेक प्यानलमा कथालाई सरल तरिकामा कोरेका छन् जसले पाठकलाई पढ्नमा निकै सजिलो हुन्छ।

अब कुरा गर्छु कथा को बारेमा:
मेरो अनुसार प्लुटोलाई लगभग ६ खण्डमा समाप्त गर्न सकिन्थ्यो। नाओकी एक यस्ता लेखक हुन जुनलाई कथामा धेरै कुरा थप्नु को आदत छ। बेला बेलामा कथा को कुनै एक पात्रमा उहाँले निरन्तर ध्यान दिँदै कथा अगाडि बढाउनु हुन्छ। कति बेला त एउटै पात्र को बारेमा जनाउँदा २-४ अध्याय जान्छ। यो कुनै नकारात्मक कुरा हैन। मेरो विचारमा यो एउटा राम्रो कुरा हो किनकी यसले हामीलाई कथा को बारेमा अझै जनाउँछ।
प्लुटो को कथामा बढी जस्तो हामीले रोबोटहरु माथि मानिसहरूद्वारा दुर्व्यवहार र भेदभाव देख्न मिल्छ। केही मानिसहरू का लागि रोबोट श्राप जस्तै हो, जसले उनको काम उनीबाट चोरेका छन्। यस कथामा रोबोटहरुलाई मानिस जस्तै नाटक गर्न को लागि देखाएको छ। केही रोबोट नाटक कै लागि र आफुलाई मानिस जस्तो बन्न को लागि चिया र अरू पेयपदार्थ पिउँछन्। कुनै कुनै रोबोट यस्तो छन् की उनीहरू रोबोट हो की मानिस हो हामीले थाहा नै पाउँदैन। केही रोबोट मानिस कै रूपमा छन भने केही रोबोट मेटल मात्रै छन्।
मलाई यो कुरा चाहिँ अलि राम्रो लागेन। मेरो विचारमा रोबोटलाई मान्छे जस्तो बनाउन राम्रो कुरा हैन, किनकि यदि ती रोबोट मान्छे जस्तो भए भने उनीहरुले मनुष्यलाई मार्न पनि सक्छन्। कथा को संसारमा एउटा कडा नियम छ कि कुनै पनि रोबोटले मनुष्यलाई हानि पुर्याउन सक्दैन। यस कारण मानिसहरू ढुक्क हुन्छन् र आफुलाई सुरक्षित महसुस गर्छन्।
प्लुटो को एउटा कुरा मलाई के मन पर्यो भने नाओकीले असल जीवन को घटनालाई सन्दर्भ लिएर मुख्य कुरा लेखेका छन्। यो मुख्य कुरा हो "३९ औं मध्य एशिया युद्ध" जो फारस (ईरान) मा भएको थियो। यो युद्ध 2003 ई देखि 2011 ई सम्म चलेको असल जीवनमा भएको इराक युद्ध को बारेमा हो। जुन तरिकाले संयुक्त राज्य अमेरिकाले इराकमा "सामूहिक विनाशका हतियारहरू" छन् भनेर युद्धमा गएका थिए, त्यही कारण लिएर प्लुटोमा संयुक्त राज्य थ्रेसियाले फारस अधिराज्यमा युद्ध सुरु गरेको थियो। यस युद्धमा संसार का ७ महान् रोबोटले हिस्सा लिएका थिए जस मध्ये केहीले फारस अधिराज्य विरुद्ध पनि लडेका थिए।
मलाई माङ्गामा वास्तविक जीवनबाट सन्दर्भ लिएर त्यसलाई कथामा प्रस्तुत गरेको कुरा पढ्नमा धेरै मनपर्छ। कथामा विभिन्न देश र भूराजनीति पढ्नमा मलाई रमाइलो लाग्छ। प्लुटो को कथामा युरोपेली देशहरू, संयुक्त राज्य अमेरिका, जापान, मध्य एशिया र अष्ट्रेलिया को बारेमा वरण गरिएको छ। कुनै कथामा जापान र अमेरिका मात्रै जनाउँदा मलाई बोरिङ जस्तो लाग्छ, तर जब अरू देश पनि थपिएका हुन्छन्, त्यति बेला मलाई पढ्नमा रमाइलो लाग्छ।

खण्ड १ देखि खण्ड ६ सम्म प्लुटो को चरित्रलाई गुप्त राखिएको हुन्छ। हामीले प्लुटो को पुरै शरीर कस्तो छ र उ कस्तो देखिन्छ भनेर थोरै थाहा पाएका हुन्छौं। तर खण्ड ७ मा हामीले एकै पटक प्लुटो को पुरै शरीरलाई हेर्छौ। यो कुरा मलाई अलि राम्रो लागेन। सायद यति लामो समय देखि प्लुटो को शरीरलाई गुप्त र रहस्यमय वातारणमा राखिएर उसलाई एकै पटकमा उसको पूर्ण शरीर देखाएकोमा मलाई राम्रो नलागेको हुन् सक्छ।
प्लुटो को खोजीमा गजिटले एक देशबाट अर्को देशमा जानु पर्छ किनकि पृथ्वीका ७ महान् रोबोट फरक फरक देशमा बस्छन्। ती मध्ये सबै भन्दा उन्नत AI भएको रोबोट हो एटम, जो जापानी हुन्छ। यो कथा खासमा यही एटम कै बारेमा हो जो मुख्य पात्र हो। नाओकीले एटम को बारेमा धेरै भनेको छैन तर उसलाई राम्रो संग र उत्तम तरिकामा दर्शाएका छन्।
कथामा मलाई केही कुराहरू मन परेन, जस्तो:
१. बोरा को अस्तित्व
पुरै कथामा लगातार पात्रहरूले "बोरा बोरा" भन्दै तर्सेका छन्, तर अन्तमा हामीले थाहपाउँछौ की बोरा भनेको एक प्रोटोन विरुद्ध विस्पोटक (Anti-proton bomb) हो जो एक दानव जति ठूलो छ।
२. गोजी र अबुल्लाह
कथामा लगातार गोजी को कुरा हुन्थ्यो र मलाई शंखा थियो कि अबुल्लाह नै गोजी हुन सक्छ। तर जब यो कुरा को पुष्टि भयो, मैले यो बुझ्न सकिन कि कसले के बनायो। के बोरा अबुल्लाहले बनाएको हो कि गोजीले र कब बनायो? यो कुरा बुझ्न को लागि मलाई पुन: केही अध्याय पढ्नु पर्छ।
अब समिक्षाकालाई धेरै ठूलो नपारेर म यसलाई यही टुङ्ग्याउन चाहन्छु। यदि तपाईंले प्लुटो माङ्गा पढ्नु भएको छैन भने म तपाईंलाई यो पढ्न सिफारिस गर्दछु।

30.5 out of 33 users liked this review